• |

गिरिजाको निर्देशनमा जय प्रकाशले मलाई अपहरण गरे

खेमराज पन्त, व्यवसायी

खेमराज पन्त एक सफल व्यवसायी हुन् । नेपालको कुरियर क्षेत्रका हस्ती पन्त अहिले नेपाल कुरियर संघका अध्यक्ष पनि हुन् । नेपालको कुरियर क्षेत्रलाई अन्तराष्ट्रिय रुपमा प्रवर्दन गर्नमा उनको मुख्य देन रहेको छ । हाल नेपाल आवास फाईनान्स लिमिटेडका बोर्ड सदस्य पनि रहेका पन्त बिभिन्न बित्तिय संस्थाहरुको संचालक टिममा पनि सक्रिय छन् । उनको मुख्य लगानी बिभिन्न अन्तराष्ट्रिय कुरियरहरुमा भएपनि नजिकबाट मानव सेवामा सहभागि हुने उद्देश्यले बानेश्वरमा नेपाल स्कृन अस्पताल पनि संचालन गरेका छन् । काम बिशेषले करिव ८ महिना त बिदेशमै रहने पन्त बाकी चार महिना नेपाल रहदाँ कुरियर क्षेत्रको बिकाशमै बिताउने गरेको बताउछन् । यसै सेरोफेरोमा हामीले उनीको जीवनका उत्तराचढावहरुलाई नजिकबाट नियाल्ने प्रयास गरेका छौं । हाम्रो आग्रहमा उनले आफ्नो जीवनभोगाईलाई यसरी प्रष्तुत गरे :

बाल्यकाल
चार दाजुभाईमा माईला छोरा खेमराज पन्तको बाल्यकाल निकै कष्टपूर्ण थियो । गोर्खाको बक्राङ गा.वि.स. मा जन्मेका उनि कक्षा सात सम्म गाँउमै पढे । कक्षा आठमा पढ्न उनी विराटनगर पुगे । गोर्खामा पढ्दै गरेका पन्त एक्कासी विराटनगर किन पुगे होला ? हाम्रो प्रश्नमा उनि भन्छन्ः हामी गाँउठाउको मान्छे त्यति बेलाको परिपेक्षमा गाँउका मानिसको कुनै नयाँ लक्ष्यनै हुने थिएन । गाँउका कक्षा आठ माथि पढ्न घरबाट नजिक विद्यालयनै थिएन । कोठा लिएर बसेर पढ्ने हाम्रो हैसियत थिएन । दोस्रो कुरा त्यति बेला छोराछोरीलाई पढाउनुपर्छ भन्ने ज्ञान पनि थिएन । पढ्न चाहनेहरुले कुनै न कुनै माध्यमबाट गाँउ छोड्नै पर्ने हुन्थ्यो । गाँउमै बसेर उच्च शिक्षा सम्भव थिएन । म जब कक्षा सात पास गरे त्यति बेला मेरो दिमागमा आयो कि अव गाँउ छोड्नै पर्छ । चौध वर्षकै उमेरमा मेरो दिमागमा यदि मैले गाँउ छोडिन भने मेरो जिन्दगी यसै वित्छ भन्ने प¥यो । म गाँउ छोडेर हिडे पछि गाँउतिर धेरैले यो विग्रिने भयो भनेर नराम्रा चर्चा गर्न थाले ।khem-raj-panta

विराटनगर नै किन ?
लक्ष्य नभएको मान्छे समात्ने डालो पनि छैन टेक्ने हाँगो पनि छैन । रुखमा भएको मान्छे समात्ने डालो र टेक्ने हागो भएन भने सिधा झर्न पनि सक्छ, एउटा हागोमा ठोकिएर दायाँ वाँया उछिट्टिन पनि सक्छ । म पनि उछिट्टिएर विराटनगर पुगे । मेरो एक जना दाई मोहन राज पन्त भन्ने त्यति वेला एक जना डाक्टरकोमा भात पकाउन बस्नु भएको थियो । उहाँ एक पटक गाँउ आउदा त विराटनगर आईज पढ्ने व्यवस्था गरौला भन्नुभएको थियो । म गाँउ छोड्ने बेलामा उहाँलाई सम्झे । उहाँ गाँउ आएर फर्केको पनि एक वर्ष वढि भैसकेको थियो । त्यति बेला अहिले जस्तो मोबाईल र फोनको सुविधा थिएन तर पनि आट गरेर गाँउ बाट निस्कीए । घरमा बा आमा कसैलाई पनि भनेको थिइन । त्यो उमेरमा घर छोडेर जान्छु भने पनि बाउ आमाले जान दिने कुरा भएन । म र एकजना दाइ गाई चराउन गएको बेलामा दाईलाई एक छिन गाई हेर्दै गर म एकछिनमा आउछु भनेर तल तिर झरे । झर्दा झर्दै तर बजारमा पुगेर ट्रक माथि चढेर अगाडि बढे । घर छोडेको तीन दिन पछि दाईलाई भेटे । मलाई दाईले खान बनाउन बसेको घरको मालिकको नाम थाहा थियो । उनकै नाम लिएर सोध्दै खाज्दै दाईलाई भेटे । दाईलाई भेटेपछि दुईचार दिन सँगै बसियो खाईयो रमाइलै भयो । दिउसो दाई पढ्न जान्थे म पनि उनकै पछि पछि जान्थे । म पनि यसै गरि पढ्न पाए कस्तो हुन्थ्यो होला जस्तो लाग्थ्यो । केही दिन पछि दाईले अब त घर जान्छस् कि यतै केहि गरेर पढ्छस् भनेर सोधे । मैले यतै केहि गरेर पढ्ने बताए । त्यस पछि दाईले मलाई एक जनाकोमा भात पकाउने काम लगाईदिनुभो । भात पकाउने काम त पाए तर भात पकाउन आउथेन । भात पकाउन आउछ भनेर सोधे मैले आउन त आउदैन तर सिकिहाल्छु नि भने । मैले भात पकाउने घरका छोरा पछि डाक्टर भएर मेचि अस्पताल झापामा काम गर्ने भए । उनले मलाई पनि झापानै लिएर गए । एक वर्ष म उहाँकै क्वाटरमा काम गरेर बसे । उहाँहरुले मलाई निकै माया गरेर पाल्नुभो तर पढाउनु भएन । मेरो लक्ष्य पढ्ने थियो । पढ्ने बातावरण नभए पछि त्याहाँबाट भागेर विर्तामोड आए । म भागेपछि उहाँहरुले पुलिसलाई खबर गर्नु भएछ । पुलिसले मलाई विर्तामोडबाट च्याप्प समातेर झापानै लगिदियो । त्यसपछि उहाँहरुले मलाई सम्झाएर पढाईदिन्छौ भन्नुभयो । उहाँहरुले किताब कापी त किन्दिनु भो तर विद्यालयको व्यवस्था भएन । उहाँहरु एकदम फुर्सद नभएको मान्छे विद्यालयमा वुझ्न जाने फुर्सत पनि भएन । त्यसपछि त्याहाँबाट दोस्रो पटक पनि भागे । सन्जोग वस यसपटक बसले विराटनगरमै ल्याएर झार्दिएछ । कसैको कोहि छैन भने उसको भगवान हुन्छ भन्छन् । विराटनगर झर्दा साँझ परिसकेको थियो । कता वस्ने कता जाने केहि टुङगो थिएन । सन्जोक बस एउटा केटा हातमा किताब बोकेर दौडदै अगाडि बढेको देखे । म पनि तिनकै पछि पछि दौडे । तिनी महेन्द्र राज्यलक्ष्मी विद्यालयमा छिरे । म पनि छिरे । ति खोटाङका मान्छे रहेछन् । दिनभरि काम गरेर साँझ पढ्न जादा रहेछन् । अहिले उनी काठमान्डौमै ट्याक्सी चलाउदा रहेछन् । मैले एकपटक भेटेको थिए ।

उनलाई मैले विद्यालयमै आफ्नो बारेमा बताए । त्यसपछि उनले मलाई राति सँगै घर लगे । दुईतीन दिन पछि उनले मलाई एक ठाँउमा काम लगाईदिए । त्याहाँ सर्त के थियो भने मैले उनीहरुको लागि भात पकाईदिनु पर्ने त्यस बापत् उनीहरुले मलाई पढाईदिन पर्ने । त्यहि घरमा काम गर्दै पढेर मैले एस.एल.सि पास गरे । पढेर राति एघार बजे घर फर्कन्थे म । साँझ विहान काम गर्ने राति पढ्ने मेरो दिन चर्या थियो । आज पनि विराटनगरको त्यो घर मेरा लागि आफ्नै या सो सरह छ ।
म घर छोडेर हिडे पछि एघार वर्ष सम्म मेरा आफ्ना आफन्तलाई मेरो बारेमा केहि थाहा थिएन । यस विचम घरकाले के के सोचे त्यसको कुरै नगरौ । घरकाले मेरो माया मारेछन् ।

एसएलसी पासपछि अवशरै अवशर
एस.एल.सि पास गरेपछि अव केहि काम पाईएला कि भनेर काम को खोजिमा निस्कन थाले । सडक छेउमा देखिएका विभिन्न फ्याक्ट्रिहरुमा काम पाईन्छ भनेर सोध्दै हिड्न थाले । सन्जोकले एउटा छापाखानामा काम पनि पाए । आठ घन्टा काम गरे वापत् रु तीन सय तलब पाउथे । त्यति बेला (४१ सालमा ) तीन सय ठुलो पैसा थियो । त्यसपछि काम गर्दै कलेज जान थाले । महेन्द्र मोरङ कलेजमा मानविकि लिएर अध्ययन गर्न थाले । अन्य विषयको तुलनामा मानविकि सस्तो थियो । मेरो उदेश्य बि ए पास गरेर गाँउ गई मास्टर वन्ने थियो । गाँउ तिर शिक्षक पेशालाई राम्रो मानिन्थ्यो । मेरो बाल मस्तिस्कका पनि शिक्षक नै बन्छु भन्ने थियो तर मेरो जीवनमा त्यति बेला अर्को एउटा मोड आयो । प्रेशमा काम गर्दै थिए कलेज पनि जादै थिए त्यसै बिच एउटा कुरियर अफिसमा काम को अफर आयो । मैले कुरियरको चिठी वाड्नु पर्ने थियो । तलब तिन सय पचास दिने भएपछि मैले गरिआएको काम छोडेर त्यतै लागे । मलाई साईकल पनि खुब सिक्ने मन थियो । त्यो अफिसमा चिठी पनि साईकलमै वाड्ने भनिएको थियो । उमेश जंग कार्की भन्ने काठमान्डौबाट नेपाल कुरियरको म्यानेजर भएर विराटनगरमा कर्मचारी खोज्न गएका रहेछन् । मलाई उनले काममा पक्का गरेर साईकल किन्न जाउ भने । उनी र म भएर पाँच सयमा हिरो साईकल किन्यौं ।

त्यसपछि त्यो कुरियरको लागि डेलिभरि मेन त म भए अब मेरो हाकिम मलाईनै खोज्न लगाईयो । मैले उमेश सरलाई भने हैन सर हाकिम नै किन चाहियो ? मैले पनि एस एल सि पास गरेको छु । उनी आश्चर्य मान्दै तिमीले एसएलसि पनि पास गरेका छौ भने, मैले गरेको छु भने पछि उसो भए तिमी हाकिम तिमी भन्दा तल काम गर्ने मान्छे खोज भने । तिनी म बाट प्रभावित भए तीन सय पचास भनिएको मेरो तलब सुरु देखिनै चार सय बनाईयो । म र एक जना साथी भएर विराटनगरबाट कुरिएर सेवा सुरु गरेउँ । मैले मेहनतका साथ त्यो काम गरे हाम्रो कामबाट माथिका हाकिमहरु पनि प्रभावित भए । हाम्रो अफिसको कार्यक्षेत्र पनि विस्तार हुँदै गयो । छोटै समयमा मेरो तलब पनि आठ सय पुग्यो । म पनि प्रमोसन हँुदै क्षेत्रिय प्रवन्धक सम्म पुगे । पुर्वाञ्चल सबै मैले हेर्थे । ममा कुरियरप्रतिको आत्म विश्वास बढ्न थाल्यो । काम त राम्रो हुँदै गयो तर पढाई भने खतम भयो ।

विराटनगर छदा एकदिन मलाई गिरिजा बाबुले (गिरिजाप्रसाद कोईराला) भेटे । कलेज पढ्दा म मा नेतृत्व स्वभाव थियो । आठ दश जना साथीहरु मेरो अगि पछि हुन्थे । त्यति बेला गिरिजा काँग्रेका महामन्त्री थिए । उनले मलाई देखाउदै यो केटाले राम्रो काम गर्न सक्छ कार्यक्रममा यसलाई लिएर आओ है भने । भोलिपल्ट जय प्रकाश प्रसाद गुप्ताले मलाई समातेर अपहरणको शैलिमा गिरिजा निवास पु¥याए । गिरिजाकै निर्देशनमा म जस्ता आठ दश जना केटालाई गिरिजा निवास पु¥याईयो । त्यति बेला जय प्रकाश र विजय गच्छेदार गिरिजाका विश्वास पात्र थिए । म बाट गिरिजा पनि प्रभावित भए । तर मेरो जागिरले गर्दा मैले राजनीतिमा समय दिन भ्याईन । त्यहि समयमा मरिचमन प्रधानमन्त्री भएको बेला देशमा युद्ध चलिरहेको थियो । ४६ सालको आन्दोलन उत्कर्षमा पुग्नै लागेको थियो । यसैविच म लगाएत केहि साथीहरुलाई काँग्रेसका मान्छे भन्दै प्रहरीले समातेर थुनिदियो । अव त काम पनि वर्वाद दाम पनि वर्वाद सबै वर्वात भए । म कसो कसोरी त्याहाँ कुरा मिलाएर छुटे । त्यस पछि म महापन्चे भए । यतातिर लागेपछि ठुलो मान्छे भईन्छ भन्ने प्रहरीले मलाई पारेका थिए । पन्चे भन्ने के हो त मलाई थाहा थिएन तर पन्चे भईयो । आन्दोलन चलिरहेको थियो यसै विचमा एक दिन बिहान उठ्दा म बसेको घर त तोडफोड भएछ । पछि बुझ्दा त ४६ सालको आन्दोलन सफल भएर देशमा प्रजातन्त्र आईसकेछ । मलाई पन्चे भनेर म बस्ने घर तोडफोड भएको रहेछ । यो कुरा मैले पछि थाहा पाए । यसरी घर तोडफोड भएकै दिन घरबेटिलाई तपाइ पन्चे भएर घर तोडफोड गरेका रहेछन् भनेर मैले त्यो कोठा छोडे । कोठा छोडेर अर्को कोठा नलिदै मलाई काठमाण्डौ बोलाईयो । के खोज्छस् काना आँखा भने झै भयो ।

हेड अफिसबाट काठमाण्डौ त बोलाईयो तर मेरो काठमाण्डौमा कोहि थिएन । त्यसैले मैले म सँगै काम गर्ने रुपक थापालाई पनि सँगै लिएर आउने सर्त राखे । रुपकको काठमाण्डौमा आफ्ना आफन्तहरु थिए । उ सँगै आएपछि बस्न खानको पनि टेन्सन हुनेथिएन । काठमाण्डौमा बसेर मैले नेपालभरिको जिम्मा लिनु पर्ने भयो । सन्जोक पनि कस्तो भयो भने जसले मलाई विराटनगरबाट शुरुमा यो क्षेत्रमा जागिर दिएका थिए उनैलाई निकालेर मलाई राखियो । काठमाण्डौमा भद्रगोल रहेको कुरियरलाई मैले समाले । कामसँगै पढाईलाई पनि मैले निरन्तरता दिए । मिन भवन क्याम्पस बाट व्याचलर सुरु गरे ।

आफ्नै व्यवसाय
प्रजातन्त्र आए पछि हाम्रो कुरियर अफिसमा विभिन्न युनियन हरुले दुख दिन थाले । यस सँगै हाम्रा दुईजना मालिकहरु विच पनि फाटो पर्न थाल्यो । यसले मलाई आफै व्यावसाय सुरु गर्न पर्छ भन्ने भयो । दुवै मालिकहरु सँग मेरो राम्रो सम्वन्ध थियो । उनीहरुसँग छुट्टा छुट्टै कुरा गर्दा दुवैले मलाई सघाउने बचन दिएका थिए । यसैवीच एउटा मालिकले मिलेर नयाँ कुरियर खोलौ म दश हजार लगानी गरिदिन्छु भने । त्यस पछि खिचापोखरीमा ए बि सी कुरियर खोलियो । यो कुरिएर दर्ता गर्न विराटनगर नै पुगे । विराटनगर मेरो लागि निकै प्यारो थियो । गोर्खा त मैले भुलिसकेको थिए । काठमाण्डौ आए लगत्तै मैले बुवा आमालाई भेटिसकेको थिए । एघार वर्ष पछि बुवा आमालाई भेट्दाको अनुभुति व्यक्त गरि साध्य छैन ।

ए वि सी कुरियरमा पहिलाका दुईजना साहुहरु फेरी झगडा गर्न थाले । उनीहरु नमिलेपछि म एक्लैले एविसी कुरियर हाक्न थाले । त्यहि दिन देखि सुरु गरेको यात्रा आज यो ठाउमा आई पुगेको छ । अहिले म चारओटा ईन्टरनेस्नल कुरियर कम्पनीहरुमा आवद्ध छु । स्काई नेट युके, अष्ट्रेलियाको टोल, सिंगापुरको डिपिइएक्स, ईन्डियाको डिटिडिसी, फ्रान्सको डिपीडि र श्रीलंकाको डिआरएच लजिष्टीकसँग म आवद्ध छु । यी सबै अन्तराष्ट्रिय ख्यतिप्राप्त कम्पनीहरु हुन् । मैले करिब पैतालिस ओटा अन्तराष्ट्रिय कन्फ्रेन्सहरुमा नेपालबाट प्रतिनिधित्व गरेको छु । आजका दिनमा पनि म वर्षको आठ महिना विदेशतिरै हुन्छु ।khem-raj-panta1

नागरिक सचेत नभएसम्म देश बिकास हुँदैन
मैले देश विदेश घुमेर बुझेको कुरा नागरिक सचेत नभए सम्म देश विकास हुदैन । हामी ईमान्दार नभए सम्म हाम्रो समाजको विकास हुदैन । विकासशिल देशको कुरा गर्ने हो भने उनीहरु भविस्यलाई सोचेर वर्तमानमा काम गर्छन् । हाम्रो सोचाई जहाँ सिधिन्छ अमेरिकाले त्यहिबाट सोच्न सुरु गर्छ । अमेरिका त हामी भन्दा सय वर्षले अगाडि छ ।

विश्वको कुनै पनि देशको नगरपालिका घरघरमा फोहोर माग्न जादैन हाम्रो देशमा घरघरमै फोेहोर माग्दै हिड्छ । सरकारकै कुरा गर्ने हो भने त हाम्रो देशको सरकार अरु देशको भन्दा अगाडि छ । हाम्रो देशको नगरपालिका अरु देशको भन्दा अगाडि छ । राष्ट्रलाई सजग बनाउने जिम्मेवारी जनताको हो । जनताले राष्ट्रलाई सहयोग गर्नु पर्छ । राज्यले दिएन मात्र भनेर हुदैन ।

राज्यको कमजोरी कहाँ हो भने जनतालाई राम्रो शिक्षा दिनु पथ्र्यो त्यो सकेन । शिक्षा र स्वास्थ्यमा राज्यले दश वर्ष उचित लगानि गर्ने हो भने देशको विकास आफै हुन्छ । पढेलेखेको मान्छे साउदीको पचास डिग्री गर्मीमा भारि बोक्न जादैन । नागरिक शिक्षित हुने वित्तिकै देशमै केहि गर्न सकिन्छ भन्ने भावना आउछ । नेपालीलाई म को हु र मैले के के गर्न सक्छु भन्ने कुरा बुझाउन नै सकिएको छैन । त्यसैले नेपालीहरु पाखुरामा बल भईन्जेल बिदेशीका सेवा गर्छन् बल सिधिए पछि रोग लिएर नेपाल आउछन् । अनि कसरी देश विकास हुन्छ ?

हामी गर्नै सक्दैनौ, हामीलाई गर्नै दिईन्न, राज्य खराब, समाज खराब भन्ने जुन धारण छ नेपालीम,ा त्यो नत्यागेसम्म माथि जान सक्दैन । आफ्नो घरमा के पकाउने भन्ने सोच्न छोडेर अरुको घरमा के पाकेको छ भनेर हेर्न छोड्नुहोस् आफै सुध्रनु हुन्छ ।

आजको दिनमा मेरो व्यावसाय कुरियर मात्र होईन । नेपालको लगानि रहेको नेपाल आवास क्षेत्रको बोड डाईरेक्टर पनि हु । हामी बैंकसँग मर्ज हुँदैछौ । यहि महिना देखि म सिद्धार्थ बैंकको बोर्ड डाईरेक्टरको भुमिकामा पनि छु । मेरो आफ्नै हस्पिटल पनि छ । कुरियर त भैहाल्यो । ईमान्दारका साथ मेहेनत ग¥यो भने अवसर घरमै आउछ । यति हो, आफ्नो कर्तव्य भुल्न भएन ।

राजनीति
नेपालको राजनीतिबाट जनता नीराश छन् । नेपालका राजनीतिक दलहरु राज्यको लागि भन्दा पनि कार्यकर्तामुखि भए । विश्वमा सगरमाथाको देश, बुद्ध जन्मिएको देश भनेर बिदेशीहरु नेपालीसँग शिर झुकाएर कुरा गर्दछन् । हामी गरिव छौ, हामी सोझा छौं, हामी कसैलाई ठगेर खादैनौ भन्ने म्यासेज बिश्वभरी छरिएको छ । यसको फाईदा हामीहरुले लिन सकिरहेका छैनौं । एउटा एयरपोर्ट बनाईदेउ भन्ने हो भने जस्ले पनि बनाईदिन्छ । हाम्रो एयरपोर्टको हालत हेर्नुस् त । नेताहरुले यो कुरा नबुझेका हुन् र ? नेताहरु सिमित स्वार्थमा केन्द्रित हुदा देश बिकास हुन सकेन । त्यसैले जनताहरु राजनीतिको र नेताहरुको बिकल्पको खोजिमा छन् ।

अध्यात्म
व्याक्तिमा सबै कुरा छ स्वास्थ्य छैन भने के हुन्छ ? तपाईसँग पैसा नै पैसा छ, तर तपाई उठ्नै सक्नुहुन्न, तपाईको मन बिरक्त छ, भने त्यो पैसाको भ्यालु हुँदैन । अमेरिकामा बसेपनि युरोपमा बसेपनि, महलमा बसेपनि, झुपडिमा बसे पनि मनमा शान्ति छैन भने उसको जिवन निरर्थक हुन्छ । त्यहाँबाट उत्रन अध्यात्मको बाटो त समाउनु नै पर्दछ । बाटो अलग अलग होलान् तर प्रत्येक मान्छेले अध्यात्मको शाहरा लिएकै हुन्छ । युरोपियन मुलुकमा सबैभन्दा बढी आत्माहत्या गर्ने गर्छन् । चिढिएर बोल्छन्, बाटो कता हो भनेर सोध्यो भने पनि बोल्दैनन् । आपसमा कसैसँग मेलमिलाप हुँदैन । किन थाहा छ ? किनकी उनीहरुलाई समाज, शान्ति, आनान्द भनेको के हो थाहा नै छैन । उनीहरुलाई बिहान उठ्ने, काममा जाने, फर्कने र सुत्ने भन्दा अरु थाहा नै छैन । आध्यात्म, ध्यान, वा आफुलाई शान्ति बनाउने, अगाडि बढ्ने भन्ने कुरा त बेसिक कुरा हुन् । सरकारले शिक्षाको भाषामा भन्दा क, ख सिकाउदा यो कुरा पनि सँगसँगै सिकाउनुपर्ने हो । अभ्यात्मलाई सरकारले यसरी समेट्ने हो भने देशको आधा समस्या हाफै समाधान हुन्छ । किनकी मान्छेले म को हो भन्ने चिन्छ, आफुलाई चिन्ने बित्तिकै गलत काम गर्दैन ।

सम्बन्धित समाचार

श्रीमानको सपना साकार पार्न म नयाँ शक्तिमा लागेँ

rubina-khan

रुबिना खान काठमाडौं, १८ असोज । मेरो नाम रुबिना खान हो । मेरो माईतिघर तनहुँको व्यास नगरपालिका वडा न २…

‘स्नातकसम्म अध्ययन गर्दा कुनै शुल्क तिर्नुपरेन’

deepak-bastola4

सोलुखुम्बुमा जन्मिएका दीपक बास्तोलाको बाल्यकाल काठमाडौंमै बित्यो । बुबाको जागिरको शिलशिलामा काठमाडौंनै रहनुपर्ने भएकोले उनको परिवार नै सोलुखुम्बु छोडेर काठमाडौंमै…

लमजुङको दुरडाँडामा ६७ औं हलोक्रान्ति दिवस मनाइयो

holi-kranti-in-lamjung

विमला अधिकारी/लमजुङ, १२ साउन । लमजुङको दुरडाँडा ६ अर्चल्यानीमा ६७ औं हलोक्रान्ति दिवस मनाइएको छ । बाहुनले पहिलोपटक हलो जोतेको…

अन्धकारमा पनि प्रकास छर्छन् यीनी

balaram-gyanwali-2

सर सन्चै हुनुहुन्छ ? सर आज पनि पढाउनुहोस् है । सर म डोर्याउछुनी तपाईलाई । यी शब्दहरु कुनै रङ्ग मञ्चमा…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

मोटरसाइकले ठक्कर दिँदा एकको मृत्यु

भाइटीकाको उत्तम साइत ११ः५१ बजे

तिहारको चौंथो दिन गरियो गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

बलात्कार गरेको आरोपमा एक पक्राउ

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु रोगको संक्रमण